

इन्टरपोल सूचना प्रणालीमा प्रत्यक्ष पहुँचका लागि समझदारी

काठमाडौं- इन्टरपोल सूचना प्रणालीमा प्रत्यक्ष पहुँचका लागि सहकार्य गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी), काठमाडौँ र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहबीच उक्त समझदारी-पत्रमा हस्ताक्षर गरेका हुन् ।
समारोहमा बाेल्दै प्रहरी महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्द गरिएका राहदानीको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटाबेसमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रक्रिया यसपश्चात् सहज र छिटो हुनाका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीच समन्वय हुने विश्वास व्यक्त गरे ।

