

मानिसको भौतिक मोहले चोट पुर्याएको पृथ्वी ( तस्वीरहरू )

काठमाडाैं – जब हामी बहुमूल्य धातुका लागि, कोइलाजन्य ऊर्जाका लागि अथवा खनिज पदार्थका लागि पृथ्वी खोतल्छौँ, हामीले अर्को कुनै समयको अध्याय समाप्त पारेका हुन्छौँ।
लेखिका एस्ट्रा टेलरका शब्दमा भन्दा यी खनिजहरूले ‘खाँदिएर बसेका पूर्वकाल’ जनाउँछन्, तिनले कुनै कालको ज्वालामुखीको या उष्णप्रदेशीय जङ्गलको या अति तातो पानी बाहिर निस्कँदा खाँदिन पुगेको समयको कथा बोकेका हुन्छन्।
ती त्यस्तो अवस्थामा पुग्न दशौँ लाख वर्ष लाग्छ तर तिनलाई मशिन वा विस्फोटक पदार्थको प्रयोग गरेर उत्खनन गरेर निकाल्न क्षणिक प्रयत्न गरे पुग्छ। मान्छेहरूले आफ्नो पैताला मुनिको जमिनभित्र गुप्त धन छ भन्ने महसुस गरेदेखि नै त्यहाँ भित्र के छ भन्ने खोज्न पृथ्वी खोतलिरहेका छन्।
खानीले हाम्रो आधुनिक जीवनको हरेक अंश सम्भव तुल्याइदिएको छ। तर त्यसले प्राकृतिक संसारलाई असर पारेको छ। जब खानीले पारेको असर तपाईँ आफ्नै आँखाले हेर्नुहुन्छ अनि त्यसपछि तपाईँ आफूसँग भएका चिजबिजबारे सोच्न थाल्नुहुनेछ।
यी शब्दहरू पनि तपाईँकहाँ भौगर्भिक माध्यमबाटै आइपुगेका छन्: यो स्क्रीनको पछाडि राखिएको धातु दशौँ लाख वर्षदेखि चट्टानभित्र बन्द भएर रहेका वस्तु हुन्। र अहिले पनि संसारको कुनै कुनामा ती श्रोतका दोहन अझ बढी गहिरो खनेर भइरहेको छ।
तलका केही चित्रमा मानवीय गतिविधिका कारण पृथ्वीको सतहमा लागेका चोटहरू छन्। कुनै अप्राकृतिक रङ्गिन बाँध छन् त कुनै मानवताका औँलाका चक्रजस्ता बनेका भू तस्बिरहरू। यदि प्राचीन कच्चा पदार्थ र खनिजहरू खाँदिएको भूतकाल हो भने दुःखपूर्वक भन्नुपर्छ अब दागयुक्त भविष्यत्काल बाँकी छ। बीबीसी

