विश्व क्रिकेटमा छाप छोडेका छौँ, दबदबा देखाउने बेला आउँदैछ: संयोजक सावद [अन्तर्वार्ता]

क्यान तत्काल कप्तान परिवर्तन गर्ने मुडमा छैन


नेपाली राष्ट्रिय क्रिकेट टोली हालमात्रै विश्वकप क्रिकेट खेलेर नेपाल फर्किसकेको छ। नेपाल, गोर्खाली, द राइनोज जस्ता उपनामले समेत चिनिने नेपाली क्रिकेट टोली यसपटक कप्तान रोहित पौडेलको नेतृत्वमा दोश्रो पटक विश्वकपमा सहभागी जनाएर नेपाल फर्किसकेको छ।

छोटो समयमा नै विश्व क्रिकेट जगतमा आफ्नो दबदबा छोडिसकेको नेपाल यतिबेला प्रतिकुल मौसमका कारण खेलहरूबाट टाढिनु परेको छ। नेपाली क्रिकेटको छाता संस्था नेपाल क्रिकेट संघ(क्यान) भने यतिबेला आफ्नो आन्तरिक नीति निर्णय र खेल मैदानको व्यवस्थापनमा जुटिरहेको छ।

सन् १९४६मा स्थापना भएको क्यानले नेपाली क्रिकेटलाई विश्व क्रिकेटको मञ्चमा पुर्‍याउन, खेलप्रतिको जोश जगाउन र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्टता हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। यसैबीच टी–२० विश्वकप क्रिकेटमा नेपालको प्रदर्शन, क्यानको आगामी यात्रा, घरेलु क्रिकेट र ग्रास रुटका विषयमा केन्द्रित रहेर क्यान केन्द्रीय सदस्य तथा क्रिकेट विकास समितिका संयोजक धिरेन्द्र सावदसँग कागजपत्रकर्मी  भूपेन्द्रसिंह धामीले गरेको कुराकानी :

विश्वकप खेलेर नेपाली टोली फर्किएको छ। यसबीच क्यानले अहिले के गरिरहेको छ?
-अहिले २/३ महिना खास्सै अन्तर्राष्ट्रिय खेल छैनन्। बर्खाको समय भएको हुँदा खेल मैदानहरूको व्यवस्थापन गर्ने कार्यभइरहेको छ। अन्य समयमा खेलहरू धेरै हुने भएकाले टीयु खेल मैदान व्यवस्थापन गर्न सकिदैन। टीयु खेल मैदानमा प्याराफिटको स्तरोन्नत्ती गर्नुका साथै फ्लड लाइटको टेन्डर प्रकिया भइसकको छ। भौतिक संरचनाका कामहरूपनि भइराखेको छ। क्यानले प्रशिक्षणका कामहरूपनि अगाडि बढाइ रहेको छ। एम्प्यारिङ्, कोच र क्युरेटर ३ महिनाभित्र प्रत्येक प्रदेशमा शून्य लेभल, लेभल १ र २ कार्यक्रम अगाडि बढाइरहेको छ। खेलाडी भने आफैँ टीयु खेल मैदानमा आएर प्रशिक्षण गरिरहेका छन्। कतिपय खेलाडी फ्रेन्चाइजी लिग खेल्ने तयारीमा पनि रहेका छन्।

विश्वकपमा नेपाली टोलीको प्रदर्शनलाई लिएर क्यानले कसरी समीक्षा गरिरहेको छ?
-समग्रमा प्रदर्शन उच्च स्तरीय नै रहेको थियो। त्यसमा दुई मत नै छैन। विश्वकप जित्ने भन्दापनि हामी राम्रो प्रदर्शन गर्ने भनेर नै गएका हौँ।

राम्रो प्रदर्शन हामीले कसलाई मान्ने? यो भन्दा अगाडि पारस खड्का नेतृत्वको टोलीले पनि विश्वकपमा सहभागीता जनाएर केही खेलपनि जितेको थियो। अहिले त सहभागीता जनाउनका लागि गएको जस्तो मात्रै भएन र?
-३ वटा टेस्ट मान्यता प्राप्त राष्ट्रसँग हामीले लड्न पर्यो। विगतको टोलीले पनि राम्रो प्रदर्शन गरेकै हो। अहिले हामीले टेस्ट राष्ट्रलाई पनि टक्कर दिने प्रदर्शन गरेका छौँ। जसलाई विश्वभरीका सञ्चारमाध्यम, दिग्नज खेलाडीले नेपाली खेलाडीको प्रशंसा गरेका छन्। क्रिकेटले विश्वसामु नेपालपनि अब लयमा छ है भनेर प्रबल दबदबा देखाएको छ।

नेपालले त्यतिबेला पारस र अहिले रोहित पौडेलको नेतृत्वमा गरी दुई पटक विश्वकपमा सहभागीता जनायो। ती दुईटा सहभागीतामा कसलाई बढी सफल मान्ने?
-दुईटैको आ-आफ्नो सफलता छ। पहिलो चरणमा हामीले विश्वकपमा सहभागीता जनाउनु नै आफैँमा एउटा सफलता हो। त्यसको आफ्नो एउटा छुट्टै महत्व छ। त्यो एतिहासिक कुरापनि हो। पछिल्लो चरणमा हामीले दोश्रो विश्वकप खेल्न १० वर्ष कुर्नपर्यो। लामो समयपछि रोहितको कप्तानीमा विश्वकप खेलेका छौँ। पहिलो चरणमा जसले नेपाललाई विश्वकपमा पुर्याएको थिए अहिले उहाँ आफैँपनि अहिले क्यानमा हुनुहुन्छ। क्यान अहिलेपनि अब हुने प्रत्येक विश्वपकपमा सहभागीता जनाउनुपर्छ भनेर लागि परेको छ।

विश्वकपमा दक्षिण अफ्रिएकासँग भएको झिनो मतान्तर हारको कमजोरी पक्ष के हो? बलिङ्, ब्याटिङ् वा फिल्डिङ्?
-समग्रमा खेलाडीले राम्रै प्रदर्शन गरेका हुन्। अलि अनुभवको कमी देखिन आयो। दक्षिण अफ्रिका भनेको फाइनल खेलेको पनि टोली हो। विश्वमा दबदबा भएको टोली हो। उनीहरूसँग धेरै अनुभव छ। कसरी हार्न लागेको खेलमा कमब्याक गर्नेसहित धेरै कुराहरू उनीहरूसँग राम्रो अनुभव छ। हामीपनि अहिले खेल्दाखेल्दै माथिल्लो चरणको अनुभव लिएका छौँ। नेपाली खेलाडीले नराम्रो खेलेको भन्न सकिन्न। अन्तिम समयमा आएको तनाव कसरी झेल्ने भन्ने नेपाली खेलाडीमा अनुभवको कमी देखिएको हो।

बलिङ्, ब्याटिङ् वा फिल्डिङ् कुन पक्ष कमजोर रह्यो। भन्न मिल्दैन?
-हाम्रो बलिङ् पहिलादेखि नै राम्रो हो। पछिल्लो चरणमा ब्याटिङमा धेरै सुधार भएको छ। यसरी हेर्दा यो विश्वकपमा ब्याटिङ सन्तोषजनक छैन। पहिला जुन तवरले हामीले एक दिवसीय प्रतियोगिताको मान्यता जोगायौँ। विश्वकपमा सहभागीता सुनिश्चितता गर्यौँ। जुन लयमा खेलाडी थिए त्यसमा हामीपनि १०० प्रतिशत खुसी छौ त भन्दैनौँ तर, सबै खलाडीले राम्रो खेलेका थिए। कसैलाई दोष लगाउने ठाउँ छैन। तरपनि ब्याटिङमा अझै सुधार गर्नुपर्ने आवश्यकता देखियो।

विश्व क्रिकेट हेर्ने हो भने हामीपनि महारथी देशका छिमेकी छौँ। हामीले त्यसको लाभ लिन किन सकेनौँ? कुनै समय हामीसँगै रहेको अफगानिस्तान पछिल्लो समय राम्रो लयमा रहेको छ। यसमा हामी चुक्नुको कारण?
-सबै देशको आफ्नो नीति हुन्छ। पछिल्लो चरणमा हामी आइसकेपछि विभिन्न राष्ट्रलाई नेपालमा खेलाउने र हामीपनि बाहिर गएर खेल्ने क्रम जारी रहेको छ। हाम्रो अहिले बिसीसीआइसँग पनि सम्बन्ध राम्रो छ। अध्यक्ष र महासचिव ज्यूले धेरै कुराहरू अगाडि बढाउनु भएको छ। अफगानिस्तानको क्रिकेट अगाडि बढाउन भारतले धेरै महत्वपूर्ण भूमिका खेलेको छ त्यो सरह बिसीसीआइपनि नेपाली क्रिकेट अगाड बढाउन सकरात्मक रहेको छ। त्यसकालागि निरन्तर छलफल र कुराकानी अगाडि बढिरहेको छ।

नेपालले पछिल्लो समय मुख्य प्रशिक्षक र बलिङ् कोचपनि राख्यो। ब्याटिङ कोचलगायत केही प्राविधिक कुरामा हामी पछाडि पर्यौ की?
-हाम्रो मुख्य प्रशिक्षक मोन्टी देसाईँ पहिलापनि नेपालको ब्याटिङ् कन्सलटेन्ट भनेर काम गरिसक्नु भएको प्रशिक्षक हुन्। उहाँले विभिन्न राष्ट्रसँग काम गर्दापनि ब्याटिङ् कन्सलटेन्ट भनेर आफ्नो काम गरेको अनुभव छ। हामीले मोन्टी सरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपनि उहाँको अनुभव लामो समय ब्याटिङ् कन्सलटेन्टमा रहेको छ। पछिल्लो समय बलिङ् प्रशिक्षकपनि राख्यौँ। बलिङ् प्रशिक्षक राखिसकेपछि हाम्रो बलिङमा केही सुधार दखिएको छ।

विश्वकपमा लक्षित बलरभन्दा नेपालका लागि अलराउन्डरले धेरै राम्रो प्रदर्शन गरे। कारण के होला?
-त्यो त्यहाँको पिचको अवस्थाले हो। त्यहाँ नेपालको लागि मात्रै नभएर अन्य देशका खलाडीलागि पनि त्यहीँ अवस्था थियो। ब्याट्सम्यानहरूको ब्याट बाट रन नबनिनरहँदा बलरका लागि फाइदा जनक मानिएको थियो। नपालको टोलीमा धेरै जना ब्याट्सम्यान यस्ता छन् जसले बलिङ् गरिरहेका छन्। कुनै दिन कसैको दिन थियो होला कुनै दिन कसैको हुन्छ। त्यो समय त्यहाँको अवस्था र कप्तानको भूमिकामा निर्भर रहन्छ।

नेपाली टोली हाल टी-२० र एकदिवसीय गरी दुई फर्म्याट मात्रै खेलिरहको छ। दुईटै फर्म्याटमा एउटै कप्तान, न उपकप्तानसम्म क्यानले तोकेको छ। दुईटै फर्म्याटमा एउटै कप्तान, उपकप्तानसम्म तोक्न क्यानले किन सकिरहेको छैन?
-यो चाही बोर्डको कुरा हो। पछिल्लो चरणमा सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिइएको थियो। उहाँ विविध कारण खेल्न नसक्ने भइसकेपछि हामी रोहित पौडेलको कप्तानीमा रह्यौँ। रोहितले आफ्नो कप्तानीमा विश्वकपमा मात्र नपुगाइ एक दिवसीय मान्यता पनि झन्डै गुमाउने अवस्थामा पुगाइसकेको नेपाललाई त्यहाँबाट बचाउनु भयो। नजिकै विश्वकपपनि रहेको अवस्थामा क्यानले टोलीभित्र तत्काल कुनै परिवर्तन गरेन। क्यानले प्रशिक्षकसँगको सहकार्यमा टोलीलाई अगाडि बढाइरहेको छ। तत्कालै उपकप्तानको आवश्यकता नदेखेर पनि हो।

कुनै समय नियमित कप्तान रोहित पौडेल खेलमा उपस्थित हुन सकेनन् भने तत्काल नै अन्य खेलाडीलाई कप्तान बनाउदाँ सोचे अनुसार नहुनपनि सक्छ। अहिले नै उपकप्तानको जिम्मेवारी कुनै खेलाडीलाई तोकिँदा ती खेलाडीले भोलिका लागि आफूलाई कप्तानी सम्हाल्न निखारि रहेका हुन्छन नी?
-यो प्रश्न उठेको पनि छ। आगामी दिनमा त्यो विषयमा थप छलफल हुनेछ। सकिन्छ भने एक दिवसीय र टी-२० फर्म्याटमा पनि के गर्ने भन्ने विषयमा कुरा उठिरहेका छन्। अहिलेलाई कप्तान परिवर्तन गरेर अरूलाई कप्तान बनाउने भन्ने केही कुरा उठेका छैनन्। यो बोर्डले निर्धारण गर्ने कुरा हो। उठेका प्रश्न टोलीको आवश्यकता पनि हो र यो विषयमा आगामि दिनमा बोर्डले सोच्नेछ।

विश्वकप प्रदर्शनलाई लिएर कतै कप्तान परिवर्तनको बारेमा केही कुरा उठेका छन्। क्यानले कप्तान परिवर्तनबारे केहीँ सोच्दै हो र?
– क्यान तत्काल कप्तान परिवर्तन गर्ने मुडमा छैन। भर्खरै त्यत्रो प्रतियोगिता खेलेर आउनुभएको छ। उहाँको योगदान धेरै छ। सबै खेलाडीले राम्रो खेल्नुभएको छ। हामी विश्वकप जिति हाल्ने भन्ने लक्ष्यका साथ गएका हैनौँ। राम्रो पर्दशन गर्ने र नेपाललाई स्थापित गर्ने भन्ने लक्ष्यका साथ हामी गएका थियौँ। त्यसका लागि खेलाडीले भरपुर राम्रो प्रदर्शन गरेका छन्।

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र नयाँ आइरहेका खेलाडीपनि देश र क्रिकेटका लागि भन्दै आफ्नो जीवन समर्पण गरिरहेका छन्। यसरी जीवन नै क्रिकेटका लागि भन्दै‌ समर्पण गर्दा क्यानले हाल उपलब्ध गराउँदै आइरहेको तलब भत्ताले उनीहरूको जीवन सहजै चल्छ र?
-हिजोको दिनमा खेलाडी ५ सय/हजारमा खेल खेलिरहेका थिए। क्यानको छुट्टै आफ्नो स्रोत उपलब्ध छैन। हामीले पनि आइसीसी/एसीसी र विज्ञापनदाताले उपलब्ध गराएको फन्ड अनुसार गरिरहेका छौँ। त्यसमै पनि ग्रास रूट क्रिकेटदेखि समग्र क्रिकेट जगतका लागि पुर्याउनुपर्ने हुन्छ। राष्ट्रिय क्रिकेट खेलाडीको हिजोको दिन र आजको दिनमा धेरै फरक छ। खेलाडीहरूलाई क्यानले २०१२ बाट तलब दिन सुरूवात गरेको हो। त्यतिबेला मपनि बोर्ड मेम्बर नै थिए र अध्यक्ष टंक आङबुहाङ् लिम्बू हुनुहुनथ्यो भने अहिलेका अध्यक्ष चतुरबहादुर चन्द उपाध्यक्ष थिए। खेलाडीहरूको तलब ५ हजारदेखि सुरूआत गरेर अहिले १ लाखसम्म पुगाएका छौँ। आवश्यकता अनुसार ४/५ लाख पुगाउन हामीलाई पनि रहर नै थियो। भविष्यमा क्रिकेटको लेभलमाथि पुग्दै जाँदा त्यो पनि पूरा हुन्छ। यसका लागि हामीसबैले लाग्नुपर्ने हुन्छ। क्यान एक्लैका लागि सम्भवल छैन। खेलाडीलाई खेल्नका लागि मुख्य कुरा भनेको भौतिक संरचना हो। भौतिक संरचनाका लागि क्यानसँग फन्ड छैन यसमा नेपाल सरकार नै अगाडि बढ्नुपर्छ। कमभन्दा कम प्रत्येक प्रदेशमा एक मात्र भएपनि राष्ट्रिय/अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुनुपर्यो। जहाँ उच्च तहका क्रिकेट खेल्न सकियोस्।

खेलाडीलाई क्यानबाट पाउने तलबबाहेक विज्ञापन तथा थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगिता खेलेबाफत पनि थुप्रै आम्दानी गरिरहेका छन्। त्यसैले आजको दिनमा क्रिकेट खेलेर पनि राम्रोसँग जीवनयापन गर्न सकिने बाटोमा नेपाली क्रिकेट पुगेको छ। हिजोको क्रिकेट र आजको क्रिकेटमा धेरै फरक छ।

क्यानले आयोजना गर्ने भनिएको नेपाल प्रिमियर लिग(एनपील)को नयाँ संस्करणको तयारी के भइरहेको छ?
-एनपीलका लागि सचिव पारस खड्काको नेतृत्वमा टोली बनाएको छ। उहाँले त्यसका लागि धेरै छलफल गरिरहेका छन्। त्यसका लागि आन्तरिक नीति निर्माणको तयारकी साथै आइपीएलकाम गरिसकेका भारतबाट एक जना अनुभवी कन्सलटेन्ट हायर गरेर एनपीलको नीति निर्माणमा गर्ने कार्य गरिरहनु भएको छ। उहाँसँग नेपालमा एक/दुई चरणको छलफल पनि भइसकेको छ। सहभागी टोली र विज्ञापनदातासँग छलफल हुनुका साथै समग्रमा द्रुत गतिमा तयारी अगाडि बढीरहेको छ। १/२ महिनामै क्यानले सो बारेमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछ।

गत वर्ष एनपील स्पोट फिक्सङलगायत विभिन्न कारणले गर्दा आलोचित हुन पुग्यो। जसका कारण केही क्रिकेट खेलाडीलाई समेत धक्का लाग्यो। यो पटक एनपीलमा के फरक हुँदैछ?
-यस पटक एनपील क्यानले आफैँले आयोजना गर्दैछ। पहिला क्यानले भारतीय कम्पनीलाई त्यसको अधिकार दिएको थियो। हिजोको दिनमा देखिएको कमीकमजोरीलाई सुधार गर्दै यस पटक क्यान अगाडि बढ्ने तयारीमा रहेको छ।

एनपीलमा यस पटकका लागि खास गरी कुन-कुन देशका र कस्ता विदेशी खेलाडी आउने तयारी छ? क्यानले केही गृहकार्य गरेको छ कि?
– यसका लागि गृहकार्य भइरहेको छ। यो देशकै ठूलो प्रिमियर लिग भएको हुँदा ठूलठूला खेलाडी नै क्यानले भित्र्याउने प्रयास गर्छ। अहिले नै यो खेलाडी त्यो खेलाडी भन्दापनि नाम चलेका खेलाडी एनपीलमा देखिने छन्।

सुदूरपश्चिमलाई मात्र किन क्रिकेटको हब मानिन्छ? अन्य प्रदेशमा क्रिकेटको विकास गर्न नसकिएको हो?
-सुदूरपश्चिम पहिलादेखि नै क्रिकेटका लागि उर्बर भूमी देखिएको छ। यहाँबाट थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइसकेका छन्। सुदूरपश्चिममा क्रिकेट एउटा संस्कृति नै भइसकेको छ। सुदूरपश्चिमका सम्पूर्ण जिल्लामा क्रिकेटप्रतिको क्रेज छुट्टै छ। यहाँका खेलाडीले राष्ट्रिय/अन्तर्राष्ट्रिय खेल खेलिसकेपछि एक प्रकारको छाप पनि परिसकेको छ।

क्यानले क्रिकेटलाई ग्रास रूटमा लग्न अहिलेसम्म के गर्यो र अब के-कस्तो तयारी गरिरहेको छ?
-ग्रास रूटको विकासमका लागि हामीले २/४ कार्यक्रमपनि प्रस्ताव गरेका छौँ। त्यसका लागि हामीले प्रत्येक जिल्लामा क्रिकेट कल्चर विकास कार्यक्रम लागू गर्ने भन्नेछ। प्रत्येक जिल्लामा १२ वर्षभन्दा मुनीका छात्रछात्राका लागि जिल्लास्तरीय प्रतियोगित आयोजना गर्नुपर्छ। क्यान आफैँले नेशन स्कुल च्याम्पीयनशीप गर्नुपर्ने प्रस्तावपनि गरेका छौँ। जसमा जिल्ला स्कुल च्याम्पीयनशीपहुँदै प्रदेश च्याम्पीयनशीप र अन्तमा नेशनल स्कुल च्याम्पीयनशिप गर्नुपर्ने प्रस्ताव अगाडि बढाएका छौँ।

जिल्लाबाट जुन विद्यालय विजयी हुन्छ त्यो विद्यालय जिल्ला च्याम्पियन हुन्छ। त्यसले प्रदेशमा भाग लिन्छ र प्रदेशमा विजयी हुनेले राष्ट्रिय स्तरमा भागमा लिने भन्ने प्रस्ताव भएको छ। त्यस्तै, महिलाको हकमा यस अगाडि उमेर समूहको अन्डर-१९ हुन्थ्यो भने यस पटक अन्डर-१६ प्रतियोगित जिल्ला, प्रदेशहुँदै केन्द्रीय स्तरसम्म गर्ने भन्ने प्रस्ताव अगाडि सारेका छौँ।

क्यानको मातहमा अहिले ४५ वटा जिल्लाले मान्यता पाएको छ। सो सम्पूर्ण जिल्लाहरूको आफ्नो क्रिकेट एकेडेमी हु्नुपर्ने प्रस्तावपनि अगाडि बढाएका छौँ। जहाँ आएर खेलाडीले आफ्नो ट्रेनिङ् गर्न पाउनेछन्।

यस्तै, क्यानले टियु मैदान अथवा मुलपानीमा नेशनल क्रिकेट एकेडेमी(एनसीए) स्थापना गर्नुपर्ने, प्रत्येक प्रदेशमा सुविधा सम्पन्न इन्डोर क्रिकेट हलसहितको प्रादेशिक क्रिकेट एकेडेमीको स्थापन गर्नुपर्ने र प्रत्येक जिल्ला कमिटीमा लेभल शून्य वा लेभल १ को प्रशिक्षक व्यवस्थापन गर्नुपर्नेलगायतका प्रस्तावहरू अगाडि सारेका छौँ।

हालमात्रै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हाल्दै गर्दा ३ सय दिनभित्र क्रितिपुर मैदानमा फ्लड लाइट, प्याराफिट निर्माणलगायतका कुराहरू सम्पन्न गर्ने आफ्नो पहिलो निर्णय गर्नुभएको छ। यसलाई कसरी लिइरहनु भएको छ?
– यो ठूलो कुरा हो। नयाँ प्रधानमन्त्रीले पदभार ग्रहण गर्दै पहिलो निर्णय नै क्रिकेट विकासका लागि गर्नुभयो। आशा छ उहाँको कार्यकालमा क्रितिपुर मैदान मात्र नभएर मुलपानीलगायत देशभरी बनिरहेका मैदानहरूले अगाडि बढ्नेछन्। समग्र क्रिकेट जगतले सकरात्मक परिवर्तन पाउनेछ। कस्तो रंगशाला बनाउने भनेर क्यान र खेलकुद परिषद् बसेर बनेको ड्राफ्ट छ प्रधानमन्त्री ज्यूले त्यसमा बजेटको कमी हुनदिने छैनन् भनेर हामी आशावादी र खुसी छौँ।

प्रतिक्रिया