नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली


बाँके – नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

अघिल्लो आवभन्दा गत आवमा करिब रु चार करोड कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड रहेकामा रु १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।

चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा चिनी आयातबाट मात्रै करिब रु ९० करोड राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो ।

कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा रु एक अर्ब ८१ करोड ३० लाख ८४ हजार असुली गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४१ करोड ४० लाख ९८ हजार सङ्कलन गरेको थियो ।

प्रतिक्रिया