त्रिशुलीमा हराइरहेका जवाहीरमाथि ५० लाख ऋण, आमाकाे चिन्ता-छोरा नै नरहे कसरी तिर्ने ?


पर्सा- वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिन्छिन् । पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेदेखि अहिलेसम्म उनका आँखा ओभाएका छैनन् ।

‘छोराले चलाएको बस बगाएको खबर सुनेदेखि परिवारका सबै सदस्य विक्षिप्त छन् । त्यसमा पनि बुहारीको स्वास्थ्य अवस्था साह्रै खराब भइरहेको छ,’ जवाहीरका ६६ वर्षे पिता भगवान् महतोले गहभरि आँसु खसाल्दै भने, ‘बुहारी भक्कानिएर रुने, कराउने गरिरहेकी छन् । उनको स्वास्थ अवस्था बिग्रिएकाले घरमै डाक्टर बोलाएर उपचार गराउँदै आएका छौं ।’

जवाहीरकी पत्नी प्रतिमा अहिले कोहीसँग पनि दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा छैनन् । ‘त्यस दिनदेखि मुखमा अन्न, पानी परेको छैन । स्लाइनपानीकै भरमा कतिन्जेल बचाउन सकिएला ? बुहारीको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको छ,’ उनले भने ।

जवाहीरका पत्नी प्रतिमा मात्रै होइन, जवाहीरका बुबा, आमा, छोराछोरी, आफन्त इष्टमित्र र छिमेकीहरूको समेत आँखा ओभाएका छैनन् । ‘जवाहीर घरकै आडभरोसा थियो । उसले बस चलाएर नै घरखर्च चलाउँदै आइरहेको थियो,’ बुबा भगवान्ले भने, ‘छोरा त्रिशूलीको पहिरोमा परेर हराइरहेको छ । मलाई बुढ्यौलीले छोइसक्यो । अब यी ससाना नाति–नातिनालाई कसले पालनपोषण र रेखदेख गर्ला भन्ने चिन्ताले सताइरहेको छ ।’

पहिरोमा परेर आफ्नो माइलो छोरा हराइरहेकामा आमा फुलेनादेवीको रुदाँरुँदै आँखा सुन्निएको छ । आफ्नो छोराका बारेमा अहिलेसम्म कुनै पनि खबर थाहा नपाउँदा निकै चिन्तित छिन उनी । ‘बिहीबार बेलुकापख छोरासँग खासै धेरै कुराकानी भएन । त्यो दिन छोरा बुबासँग मात्रै कुराकानी गरेर बिदा भएर बस चलाउन गयो,’ उनले भनिन्, ‘अहिलेसम्म छोराको न त श्वास नै पाउन सकेका छौँ, न त लास नै पाउन सकेका छौं । पहिरोमा छोरो हराएदेखि मेरो मन बेचैन छ ।’

उनले आफ्नो छोरा पहिरोमा हराएपछि सान्त्वना दिन एञ्जल बसका प्रतिनिधि, स्थानीय नेता, सांसद तथा अन्य कोही पनि नआउँदा दुःख झनै बढेको बताइन् । ‘छोराले फर्निचर चलाउने भन्दै ५० लाखभन्दा धेरै कर्जा लिएको छ,’ उनले भनिन्, ‘छोरा नै नरहेपछि कर्जा कसरी तिर्ने भन्ने पीरले अर्को चिन्ता थपिरहेको छ ।’

बुबाका अनुसार जवाहीर डेढ दशकदेखि सवारीसाधन चलाउँदै आएका थिए । जवाहीरले एञ्जल डिलक्स बस चलाउन थालेको पनि चार–पाँच वर्ष भइसकेको छ । उनले प्रायः रात्रिबस चलाउँदै आइरहेका थिए ।

जवाहीरका दुई छोरा र एक छोरी रहेकी छन् । जेठी छोरी प्रिती कक्षा आठमा अध्ययनरत छिन्भने जेठो छोरा कक्षा ४ र कान्छो छोरा बिटु युकेजीमा अध्ययनरत छन् ।

१३ वर्षीय छोरी प्रिती महतोले आफ्नो बुबाको जतिसक्दो छिटो उद्धार गरिदिन अनुनय गरे । ‘बुबालाई जतिसक्दो छिटो पानीबाट निकालिदिनूस् । अरू हामीलाई केही चाहिएको छैन,’ उनले भने ।

जवाहीरका कान्छो भाइ मुन्ना महतो अहिले हराइरहेका दाजुको खोजीमा नारायणगढ–चितवनमा खटिरहेका छन् । आज दिउँसोसम्म जवाहीरको अवस्था पत्ता लाग्न सकिरहेको छैन । हराइरहेका जवाहीरका दिदी सुशीलादेवी महतोले भाइ पहिरोमा हराएसँगै परिवारको खुसी खोसिएको बताइन् ।

भगवान्का चार छोरा र एक छोरी छन् । तीमध्ये पहिरोमा परेर हराइरहेका जवाहीर माइलो छोरा हुन् । जेठो सुनिल कतारमा र साइलो हिरालाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् भने कान्छो मुन्ना नेपालमा नै छन् ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स बस चालकसहित १९ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार एञ्जल बसमा २७ जना यात्रु रहेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले एञ्जल बसमा सवारमध्ये अहिलेसम्म तीन जनाको शव भेटिएर परिवारका सदस्यले सनाखत गरेको बताए । उनले भने, ‘अहिले हामीले बेपत्ताहरुको खोजी कार्यलाई तीव्र पारिरहेका छौँ ।’

प्रतिक्रिया