भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण लक्षित गरी पोखरेलबाट रक्षा मन्त्रालय खोसियो !


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनका क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मामा रहेको रक्षा मन्त्रालय भारतीय स्थल सेनाध्यक्ष मुकुन्द नरवणेको नेपाल भ्रमणलाई लक्षित गरी खोसेको खुलेको छ ।

नेपाली सेनाले ‘प्रधानमन्त्री तथा रक्षामन्त्री’ केपी शर्मा ओलीसँग समेत नरवणेको भेटको कार्यक्रम रहेको भनी विज्ञप्ति जारी गरिसकेको छ ।

नरवणेले नेपाल कुनै अर्को शक्ति भनी सांकेतिक रुपमा चीनबाट परिचालित भएको भन्ने अभिव्यक्ति दिएको विवरण बाहिरिएपछि अघिल्लो महिना पोखरेलले भारतीय सेनाको कटाक्ष गरेका थिए । जसका कारण नेपाली सेनाको निम्तोमा आउन लागेका नरवणेको भ्रमण स्थगित हुने चेतावनी आएपछि नेपाली सेनाको सुझावका आधारमा पोखरेलको जिम्मेवारी खोसिएको उच्च स्रोतले जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले राजनीतिक प्रतिक्रियाका कारण भारतसँगको सैन्य सम्बन्ध प्रभावित हुनसक्ने भनी प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेपछि नरवणेको भ्रमणका निम्ति मन्त्रिमण्डल पुनर्गठनका क्रममा पोखरेलको पद खोसी आफैंसँग राखेका थिए ।

नेपालमा रहेको भारतविरोधी भावनालाई सत्तारुढ पार्टीका नेता र मन्त्रीले नै उर्जा दिएको र यस्तो अवस्थामा सेना प्रमुखको भ्रमणका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिन्तित रहेको सन्देश गोयलले प्रधानमन्त्री ओलीलाई दिएका थिए

मन्त्रिपरिषद पुनर्गठनको केही सातामा नै भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का प्रमुख सामन्त गोयल काठमाडौं उत्रिएका थिए । उनले प्रधानमन्त्री ओलीसँग भेट गरी नरवणेको भ्रमण र नेपालको अवस्थाका विषयमा पूरा जानकारी लिएका थिए ।

नेपालमा रहेको भारतविरोधी भावनालाई सत्तारुढ पार्टीका नेता र मन्त्रीले नै उर्जा दिएको र यस्तो अवस्थामा सेना प्रमुखको भ्रमणका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिन्तित रहेको सन्देश गोयलले प्रधानमन्त्री ओलीलाई दिएका थिए । नरवणेको भ्रमण अन्य बेलाको भन्दा भव्य हुने ओलीको आश्वासनपछि गोयल दिल्ली फर्किएको उच्च स्रोतको दाबी छ ।

यसैबीच, नेपाली सेनाले नरवणेको भ्रमणको तालिका सार्वजनिक गरिसकेको छ । १९ कात्तिकमा काठमाडौं आउने नरवणेका सैन्य स्वागत र विविध भेटका विषयमा सेनाले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

नेपाली सेनाका जनसम्पर्क निर्देशनालयका अनुसार चार नरवणेको सदस्यीय भ्रमण दल काठमाडौं आउनेछ । उनले प्रधानसेनापति थापासँग भेट र परामर्श गर्दै नेपाली सेनाको स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् ।

नरवणेलाई २० कात्तिकमा राष्ट्रपति तथा नेपाली सेनाकी परमाधिपति विद्यादेवी भण्डारीले मानार्थ महारथी दर्जा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ । नरवणेले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग समेत भेट गर्ने नेपाली सेनाले उल्लेख गरेको छ ।

प्रतिक्रिया