गोलाघाटमा भेटिएको शव गणपति डिलक्समा सवार भारतीय यात्रुको भएको पुष्टि
काठमाडौं- चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ।
नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीका अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो ।
गोलाघाटस्थित नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए। बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जगेश्वर यादव पौडी खेलेर नदीबाट बाहिर आएका थिए ।
शुक्रबार दुईवटा गुडिरहेको बसलाई पहिरोले बगाएर त्रिशूलीमा डुबाउँदा ५० भन्दा बढी यात्रु बेपत्ता भएका छन् । बससहित उनीहरुको खोजी तथा उद्धार बिहानैदेखि गोताखोरसहितको प्रहरी टोली त्रिशूली तथा नारायणी नदी क्षेत्रमा तैनाथ गरिएका छन् ।