एमाले संसदीय दलको विधान केन्द्रीय कमिटीमा पारित, सांसदलाई कारबाही गर्ने अधिकार ओलीमा


काठमाडौँ – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले संसदीय दलको संशोधित विधान पारित गरेको छ । शनिबार बिहान बसेको दलको बैठकबाट पास भएको विधानलाई दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईका अनुसार दलको विधान परिमार्जनसहित पारित गरिएको हो ।

पार्टीमा गुटगत गतिविधि भएको भन्दै मुख्य सचेतक विशाल भट्टराईको संयोजकत्वमा बनेको तीन सदस्यीय कमिटीले विधान संशोधनको मस्यौदा दलको बैठकमा पेश गरेको थियो। सोही मस्यौदा संसदीय दलको बैठकले संशोधित विधान पारित गरेको हो।

नयाँ विधानअनुसार दलको नेताले सांसदहरूलाई कारबाही गर्ने अधिकार दिइएको छ । समूहगत माग राख्न नपाइने, माग राखेमा कारबाही गर्ने, संसदीय बोर्डमा रहने सदस्यको संख्या बढाउने र पार्टीभित्र गुटगत राजनीति गर्नेलाई बोर्डले स्पष्टिकरण सोध्ने व्यवस्था गरिएको छ। एमाले संसदीय बोर्डमा २७ सदस्य हुने व्यवस्थालाई संशोधन गरेर त्यो संख्यालाई २९ बनाइएको छ।

दलको उपनेता दलको नेताले नै तोक्ने वा मनोनयन गर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिसभाबाट मात्र दलको नेता चयन गर्न व्यवस्थासमेत विधानमा गरिएको भट्टराईले बताए। संशोधित विधानमाथि बैठकमा वामदेव गौतमसहित १० जना सांसदले धारणा राखेका थिए। संशोधित विधानलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी रहेको भट्टराईले बताएका छन्।

प्रतिक्रिया