संविधानको धारा ७६ (२) कि (३) को सरकार बनाउने राष्ट्रपतिको विवेकमा निर्भर : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार संविधानको कुन व्यवस्थाअनुसार आह्वान गर्ने भन्ने विषय राष्ट्रपति रामचन्द्र पौडेलको विवेकमा भर पर्ने बताएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकमा प्रधानमन्त्री दाहालले आफूले संसद्मा विश्वासको मत लिने र त्यसपछि संविधानको कुन व्यवस्थाअनुसार सरकार गठन हुने भन्नेमा विवाद रहेको बताए ।

‘संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने कि संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने भन्नेमा बहस छ, मत विभाजित छन्, ’दाहालले भनेका थिए, ‘अन्ततः राष्ट्रपतिको विवेकमा भर पर्छ ।’

संविधानको धारा ७६ को उपधारा २ मा संसद्मा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्ने व्यवस्था छ भने धारा ७६ को उपधारा ३ मा संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा संविधानको धारा ७६ को उपधारा ३ अनुसारको प्रधानमन्त्री बन्न तयार नरहेको पनि दाहालले बताएका थिए । ‘संविधानको धारा ७६ को उपधारा ३ अनुसार जो प्रधानमन्त्री हुनुपर्ने हो उनी लिन तयार छैनन्, ’दाहालले भनेका थिए ।

दाहालले एमाले र कांग्रेसबीच सरकार गठन गर्नका लागि उद्योगी तथा सांसद विनोद चौधरीको घरमा तयारी भएको र उद्यमी रामेश्वर थापाको घरमा सम्झौता भएको पनि बताएका थिए । काँग्रेस र एमालेबीच सत्ता गठबन्धन बनाउनका लागि छलफल भइरहेका सूचना आफूकहाँ आएको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया