मौद्रिक नीति बैंक र व्यवसायी बचाउने सञ्जीवनी बुटी बन्नुपर्छ: चन्द्र ढकाल


काठमाडौँ – नेपाला उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन् ।

मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन् ।

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी आउनुपर्ने बताए । उनले उत्पादनमूलुक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतकोभन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताए ।

उनले मागमा आएको संकुचनका कारण उद्योगीहरुले ऋण तिर्न नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । उनले राष्ट्र बैंकले लगानीलाई प्रोत्साहन, पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्ने विषयमा मौद्रिक नीतिले सोच्नुपर्ने उल्लेख गरे ।

उनले निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहज र सुलभ गरिनुपर्ने बताए । उनले निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको उल्लेख गरे ।

उनले नगद प्रवाहमा भएको समस्या, न्युन उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेकाले मनोबल उच्च बनाउने मौद्रिक नीति अहिलेको आवश्यकता भएको बताए । उनले गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

प्रतिक्रिया