


हामीले पार्टी फुटाउने कुरा गरेका छैनौं : नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको बताएका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरुले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् ।
उनले २८ फागुनमा अध्यक्ष ओलीले गरेका एकलौटी निर्णयहरु खारेज भए मात्र आफूहरुका गतिविधिहरु रोक्ने बताए। उनले दल त्यागेर अरु पार्टीको सदस्य नलिएसम्म कसैले पनि आफूहरुलाई पार्टीबाट हटाउन नसक्ने बताए ।
कार्यक्रममा नेपाल पक्षका नेता गोकर्ण विष्टले आफूहरु पार्टी एकताकै पक्षमा रहेको भन्दै पार्टी एकतालाई जोगाउन अन्तिम समयसम्म कसरत जारी राख्ने बताए । पार्टीमा हावी भएको व्यक्तिवाद र गलत प्रवत्तिलाई सच्याएर पार्टीलाई सहि विचार र विधिद्धारा सञ्चालन गर्ने अठोट लिएको पनि उनको भनाइ थियो ।
पून: नेता नेपालले सांसदहरुको सवालमा के कस्तो हुन सक्छ भनेर आफूहरुले परामर्श गरिरहेकाले नआत्तिइकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि आफू पक्षका सबैलाई निर्देशन दिए । केही समयअघि अध्यक्ष ओली समूह अन्तर्गतको अखिल महिला संघले पनि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो ।

