लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता


बुटवल – प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । संघमा नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाएसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो । नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महरा नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले बिहीवार राजीनामा दिएका छन् ।

साथै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । एमालेले समर्थन फिर्ता लिइसकेपछि महरासँग १८ मात्र सांसद छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन् ।

यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना छ । संघमा भएको सहमतिको ड्राफ्टअनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ । लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११ सांसद छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ र ४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३–३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक र एक जना तथा एकजना स्वतन्त्र गरि ८७ सांसद छन् ।

प्रतिक्रिया