नेपाल एसियामा हवाई गतिविधिको वृद्धि र खतराको सामना गर्न तयार छ: महानिर्देशक अधिकारी


काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एसिया प्रशान्त क्षेत्रमा देखिएको हवाई गतिविधिहरुको वृद्धि तथा यसबाट उत्पन्न हुनसक्ने खतराहरुको सामना गर्न नेपाल तयार रहेको बताएका छन्।

अमेरिकाको वासिङटन डिसीमा भएको सातौं युएस इण्डिया एभिएसन समिटमा सम्बोधन गर्दै उनले हवाई यात्रालाई विलाशिताको परिभाषा भित्रबाट हेर्ने आँखाहरुलाई नेपालको दुर्गम क्षेत्रमा हुने उडान र यसका चुनौतीहरुलाई विवशताका रुपमा हेरिदिन अनुरोध गरे ।

उनले क्षेत्रीय समन्वय र सहकार्य आवश्यक रहेकाले ठुलो अर्थतन्त्र भएका छिमेकी मुलुकहरुले यसको अग्रसरता लिनुपर्नेमा जोड दिए ।

सहकार्यका माध्यमबाट आर्थिक रुपान्तरणमा जोड दिन दक्षिण एसियाली देशहरु एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिएका थिए ।  उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरि सञ्चालनमा समेत ल्याइ सकिएको जानकारी दिएका थिए । तर, नियमित हवाई उडानहरु सञ्चालन नभएको वास्तविकता पनि उनले बताए।

नेपालका दुर्गम क्षेत्रका विमानस्थलहरु खाद्यान्न, औषधी, नुन लगायत आधारभूत आवश्यकताका परिपूर्तिका लागि अत्यावश्यक रहेको उनले बताएका थिए ।

यस्तै उनले आईकाओले गरेको प्रक्षेपण र एसिया प्रशान्त क्षेत्रमा देखिएको हवाई गतिविधिहरुको वृद्धिदरबाट समेत भविष्यमा दक्ष प्राविधिक जनशक्तिहरुको ठूलो मात्रामा माग हुने देखिएको भन्दै त्यसका लागि पनि सहकार्य गरेर जनशक्ति तयार गर्नुपर्ने बताएका थिए ।

 

प्रतिक्रिया