‘महेन्द्रनगरपोष्ट’का सम्पादक धामीलाई इन्स्पेक्टर शाहीको धम्की


काठमाडौं – समाचार सम्प्रेषणको विषयलाई लिएर नेपाल प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी शाहीले पत्रकारलाई धम्की दिएकी छन्। ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीकी इन्चार्ज इन्सपेक्टर शाहीले पत्रकार टेकसिंह धामीलाई धम्की दिएकी हुन्।

शाहीले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित महेन्द्रनगरपोष्टडटकमका सम्पादकसमेत रहेका धामीलाई धम्की दिएकी हुन्। उनले धामीलाई त जेरो होस्, आफ्नो ख्याल गर्नू। मबाट सचेत रहनू भन्ने धम्कीपूर्ण म्यासेज पठाएकी छन्।

महेन्द्रनगरपोष्टले शाहीले कञ्चनपुरमा थुनुवालाई यातना दिएको प्रकरणदेखि उनले भोगेका कारबाही र कार्यक्षेत्रमा कमजोर कमाण्डका कारण घटनाहरु बढेका लगायतका विषयमा निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो। सोही विषयलाई लिएर शाहीले सम्पादक धामीलाई धम्की दिएको बुझिएको छ। धम्कीका विषयमा सम्पादक धामी र अक्सफोर्ड मिडिया प्रालिले सम्बन्धित स्थानमा जानकारीसमेत गराएको छ।

समाचार प्रकाशनकै विषयमा प्रहरी अधिकृतबाटै पत्रकारमाथि धम्की आउनु दु:खद भएको अक्सफोर्ड मिडिया प्रालिको बुझाई छ।

पछिल्लो पटक इन्सपेक्टर शाहीको एरियामा गुण्डागर्दी बढेको र सो क्षेत्रका स्थानीय व्यापारी ४२ वर्षीय मनोज कुमार बानियाँमाथि दिनदहाडै खुकुरी प्रहार भएको विषयमा महेन्द्रनगरपोष्टमा समाचार प्रकाशित भएपछि इन्सपेक्टर शाहीबाट धम्की आएको सम्पादक धामीले जनाएका छन् ।

प्रतिक्रिया