किशोरी बलात्कृत भएपछि अछाममा फेरि छाउगोठ भत्काउने अभियान


अछाम- जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिकाकी एक १६ वर्षीया किशोरी मामा नाता पर्नेबाट छाउगोठमै बलात्कृत भएपछि अछाममा पुनः छाउगोठ भत्काउने अभियान सुरु भएको छ।

पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले नगरपालिकाभित्रका सबै वडालाई छाउपडी कुप्रथाविरुद्धको अभियान सञ्चालन गर्नका लागि न्यायिक समितिबाट पत्राचार गरिएको बताइन् । चलाउनेले वडाहरूमा फेरि बनेका छाउगोठ कति छन् भनेर संख्या यकिन गरेर भत्काउने र सँगसँगै सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्ने भनेर पत्राचार गरेको बताइन् ।

नगरपालिकाको वडा नं ६ बाट गोठ भत्काउने अभियान सञ्चालन गरेको वडाध्यक्ष कमल रावलले जानकारी दिए । वडामा करिब २५/३० छाउगोठ रहेको अनुमान गरिएको र शुक्रबार मात्र १६ वटा छाउगोठ भत्काएको रावलले बताए ।

गत सोमबार राति किशोरीमाथि  सामूहिक बलात्कार भएकाे थियाे ।   बलात्कारको आरोपमा स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिकामा ११ वर्षदेखि मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो।

अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि ३/४ जनाले बलात्कार गरेको बताएकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाे छ ।

 

 

प्रतिक्रिया