महाधिवेशनबाट नेकपा एसले सक्षम र गतिशील नेतृत्व पाउँछ : झलनाथ खनाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औँ महाअधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनकै इतिहासमा महत्त्वपूर्ण हुने दाबी गरेका छन् ।

महाधिवेशनका लागि हिजो देश र प्रवासमा समेत महाधिवेशन प्रतिनिधिहरू निर्वाचन सम्पन्न भएपछि आसन्न महाअधिवेशनलाई ऐतिहासिक हुने बताए ।

पार्टीका दस्ताबेजहरूका अतिरिक्त नेपालको समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक कार्यक्रम समेत पारित गर्ने उल्लेख गरेका छन् । नेता खनालको विज्ञप्तिमा भनिएको छ, ‘जुन कार्यक्रमले पार्टी र समाजवादी क्रान्तिलाई सिङ्गो कालखण्ड भरि मार्गदर्शन गर्नेछ । त्यसैका आधारमा हाम्रो पार्टीका कार्यदिशा, नीति र सिद्धान्तहरू अझ परिष्कृत र परिमार्जित हुँदै जानेछन्। त्यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सर्वदा नयाँ उचाइमा उठाउने छ । त्यसैले यो महाधिवेशनका लागि निर्वाचित सबै कमरेडहरूका काँधमा अत्यन्त ठुलो जिम्मेवारी आएको छ ।’

सबैले पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई क्रान्तिकारी जगमा उठाउन, वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउन, पार्टीलाई वैचारिक र संगठनात्मक दुवै हिसाबले दक्षिणपन्थी यथास्थितिवादबाट मुक्त गराउन र सबै प्रकारका वैचारिक भ्रमहरूबाट मुक्त नयाँ क्रान्तिकारी, सक्षम र गतिशील नेतृत्व निर्माण गर्न अझै अहम् भूमिका निर्वाह गर्नुपर्ने बताए। नेकपा एसको महाधिवेशन असार १६ गते काठमाडौंमा सुरु हुँदैछ।

प्रतिक्रिया