युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग राष्ट्रपति पौडेलको आग्रह


काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह गरेका छन् । जर्मनी भ्रमणका क्रममा उनले जर्मनी समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सेवा शुरु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिए ।

राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर बिहान स्वदेश फर्किएका हुन् । परराष्ट्रसचिव लम्सालले जर्मनीका राष्ट्रपति स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल भएको बताए ।

परराष्ट्र सचिव लम्सालले राष्ट्रपति पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमण उपलब्धिमुलक रहेको दाबी गरे ।

राष्ट्रपति पौडेल स्विजरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाण्डौबाट प्रस्थान गरेका थिए ।

प्रतिक्रिया