प्रचण्डको निर्देशनपछि खगराजलाई धामीको चुनौती- ‘बहुमत पुर्याएर दल नेता बन्नुस्’
काठमाडौं– नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता मानबहादुर धामीले प्रक्रियाबाट आफुलाई हटाएर नेता बन्न नेता खगराज भट्टलाई चुनौती दिएका छन् ।
मंगलबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्य खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका सबै सासंदहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका थिए ।
भट्टलाई दल नेता बनाउन प्रचण्डको निर्देशन दिएको समाचार बाहिरीएपछि संसदीय दलका नेता मानबहादुर धामीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ समाचार मात्र लेखाउनु भन्दा प्रकृयामा गएर फेस गरेकसो होला,कुरि कुरि’।
धामी पार्टीको वैकल्पीक केन्द्रीय सदस्य मात्रै हुन् ।
यस्तै माओवादी प्रदेशसभाका अर्का सांसद झपट साउँदले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन् ।
उनले लेखेका छन्,‘ माया गर्नेको चोखो माया पनि देखीयो । सन्दर्भ सुप माओवादी संसदीय दल ।’
साउद यसअघि प्रदेश सरकारका सामाजिक विकासमन्त्री सेमत हुन् ।
भट्ट यसअघि दल नेता थिए । तर उनलाई अल्पमतमा पार्दै मानबहादुर धामी दल नेता चुनिएका थिए । पछिल्लो समय पार्टी र दल दुवैबाट भट्टको भूमिका खोसिएपछि उनी मौन बसेका थिए । भट्टलाई दल नेताबाट हटाएपछि पार्टीको स्थायी समिति बैठकमा समेत त्यसबारे चर्को बहस भएको थियो ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीको सहभागितालाई लिएर विवाद चर्कदै गएपछि प्रचण्डले पार्टी प्रदेश इञ्चार्जसहित सबै सांसदलाई काठमाडौं बोलाएका थिए ।
आज झण्डै ३ घण्टा प्रचण्डले सांसदहरुसँग छलफल गरेका थिए ।
सुदूरपश्चिममा सभामुख बाहेक माओवादीका १० जना सांसद छन् । १० जनामध्ये ५ जना दल नेता धामीको पक्षमा र ५ जना खगराज भट्टको पक्षमा देखिएका छन् । पाँच÷पाँच जना दुई समुहमा हुँदा दुवै समुह बराबरीमा देखिएका छन् । यस्तोमा प्रचण्डले दिएको निर्देशन अर्थपूर्ण मानिएको छ ।
बैठकमा प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेल,सह इञ्जार्च विना मगर लगायतको उपस्थिती थियो ।
यस्तै प्रचण्डले तत्काल सुदूरपश्चिम सरकारमा सहभागि मन्त्रीलाई फिर्ता नबोलाउन निर्देशन समेत दिएका छन् । सरकारमा गएका मन्त्री फिर्ता बोलाउँदा राम्रो सन्देश नजाने प्रचण्डको भनाई थियो ।