मन्त्रालयको निर्देशनपछि २० जना शिक्षक पद नै त्यागेर लागे राजनीतिमा


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलको सदस्यता त्याग गर्न निर्देशन दिएपछि २० जनाले बरु शिक्षक पद नै त्यागेर राजनीतिमा लागेका छन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई दलको आबद्धता छाड्न देशभर सर्कुलर गरेकी थिइन् । ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेकोमा २० जनाले शिक्षकबाट राजीनामा दिएर राजनीतिमा लागेको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले नीति तथा कार्यक्रममा पनि शिक्षकलाई दलीय आबद्धता मुक्त गराउने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने घोषणा गरेको थियो ।

शिक्षामन्त्री श्रेष्ठले कार्यकालको एक सय दिनको कार्य विवरण सार्वजनिक गर्दै शिक्षकहरूलाई राजनीतिबाट निरुत्साहित गर्न आफ्नो प्राथमिकता रहेको प्रतिबद्धता दोहोर्‍याइन् ।

उनले शिक्षामा दलीय राजनीतिकरण हुन नहुने विषयमा अन्तिम साससम्म नछाड्ने एजेन्डा आफ्नो रहने सुनाइन् । राजनीतिमा आबद्ध भएका ४५ शिक्षक विरुद्ध उजुरी प्राप्त भएको र ती मध्ये ४१ जना सँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाई पाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया