घरजग्गा कारोबार र राजस्वमा सुधार


काठमाडौँ – चालु आर्थिक वर्ष (आव) को अन्तिमतिर पुग्दा घरजग्गा कारोबारसँगै सरकारको राजस्वमा पनि सुधार देखिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा अघिल्ला महिनाहरू र गत आवको सोही महिनाको तुलनामा लिखत पारित र राजस्व दुवैमा सुधार देखिएको छ ।

आवको अन्तिमतिर आउँदा लिखत पारित उल्लेख्य रूपमा बढेको देखिन्छ । आर्थिक वर्षको बीचमा केही महिना गत वर्षभन्दा कम देखिएको राजस्व संकलन वैशाख र जेठमा भने उल्लेख्य रूपमा बढेको देखिन्छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चालु आवको जेठ मसान्तसम्म ४ लाख ९१ हजार ११८ लिखत पारित भएको छ । उक्त लिखत पारित हुँदा ३७ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आवको जेठसम्म ४ लाख १८ हजार ८३७ वटा लिखत पारित हुँदा ३३ अर्ब ८८ करोड ३३ लाख राजस्व संकलन भएको थियो ।

लिखत पारितले चालु आव घरजग्गा कारोबार सङ्ख्यात्मक रूपमा राम्रो सुधार भएको देखाउँछ । तर, कारोबार बढेको अनुपातमा राजस्व भने बढेको छैन । जग्गा मूल्यांकन बढी भएको भन्दा कम भएको स्थानमा कारोबार वृद्धि हुँदा लिखत पारित संख्या बढे पनि कारोबार राजस्वमा वृद्धि हुन नसकेको घरजग्गा व्यवसायी बताउँछन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अधिकारीहरू पनि बढी मूल्यांकन भएको सहरी क्षेत्रभन्दा कम मूल्यांकन भएको ग्रामीण क्षेत्रको जग्गा कारोबार बढेर राजस्व कम भएको हुन सक्ने बताउँछन् ।

यस्तै लिखत पारितमा दृष्टिबन्धक अंशबन्डा लगायत अन्य कारोबार पनि हुने भएकाले लिखत पारित हुँदैमा सबै राजीनामाका लिखत मात्रै नहुने भएकाले पनि लिखत पारित बढ्दैमा जग्गा कारोबार वृद्धि नहुने उनीहरूको तर्क छ ।

प्रतिक्रिया