मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित


काठमाडौँ – मधेस सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ।

बिहीबार बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममा भएको छलफल पश्चात् मुख्यमन्त्री सतिशकुमार सिंहले जवाफ दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो।

प्रदेश सभाको बैठकको छलफलका क्रममा विभिन्न दलका २८ जना सांसदले बोलेका थिए। यस्तै, नेपाली काँग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंह र लोकतान्त्रिक समाजवादी पार्टीकी रानी शर्मा तिवारीले संसोधन प्रस्ताव दर्ता गराएकोमा छलफलको क्रममा उठेको कुराहरूको मुख्यमन्त्री सिंहले सम्बोधन गरेपछि संशोधन प्रस्ताव फिर्ता लिइएको हो।

छलफल पश्चात् मुख्यमन्त्रीले नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गरेपछि सर्वसम्मतले पारित भएको हो।

मङ्गलवार मधेस सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि २२५ बुँदे नीति तथा कार्यक्रम ल्याएको थियो। प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको हो।

प्रतिक्रिया