टी-२० विश्वकपः वेस्ट इन्डिज ‘सुपर ८’ मा, न्यूजिल्यान्डको लगातार दोस्रो हार


काठमाडौं — टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिजले आफ्नो विजयी यात्रा जारी राख्दै सुपर ८ मा स्थान पक्का परेको छ । न्युजिल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

३ खेलबाट ३ जित हासिल गर्दै वेस्ट इन्डिजले ६ अङ्क बटुल्न सफल भएको छ । दोस्रो खेल खेल्दा न्युजिल्यान्ड भने जितविहीन छ ।

सुपर ८ मा स्थान बनाउने वेस्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।

बिहीबार भएको समूह सी अन्तरगतको खेलमा न्युजिल्यान्ड १३ रनले पराजित भएको हो । १ सय ५० रनको लक्ष्य पछ्याएको टोलीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा सर्वाधिक ४० रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

फिन एलेनले २३ बलमा २६ रन जोडे । उनले ३ चौका र १ छक्का हिर्काए । ड्यारेल मिचेलले १२ रन तथा रचिन रवीन्द्र तथा जेम्स निसमले १०–१० रनको योगदान दिए ।

खेलको अन्त्यतिर मिचेल स्यान्टनरले १२ बलमा २१ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले घातक बलिङ गरे । ४ ओभरमा मात्र १९ रन खर्चेर उनले ४ विकेट हात पारे । गुणकेश मोतीले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।

पहिलो ओभरमा नै जोनसन चार्ल्सलाई शून्य रनमा गुमाएको टोलीले पावरप्लेभित्र २२ रनमा ४ विकेट गुमाइसकेको थियो ।

१ सय १२ रन बनाउँदा ९ विकेट गुमाइसकेको वेस्ट इन्डिजका लागि रथरफोर्डले विस्फोटक ब्याटिङ गरे । उनले ३९ बलको सामना गर्दै गर्दै सर्वाधिक ६८ रन बनाए । यस क्रममा उनले २ चौका र ६ छक्का प्रहार गरे ।

निकोलस पुरनले १२ बलमा १७ रन तथा अकिल होसेनले १७ बलमा १५ रनको योगदान दिए । आन्द्रे रसलले ७ बलमा १४ रन तथा रोमारियो सेफर्डले १३ बलमा १३ रन जोडे ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले शानदार बलिङ गरे । ४ ओभरमा उनले एक मेडन ओभर राख्दै मात्र १६ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै, टिम साउथी र लोकी फर्गुसनले २–२ विकेट हात पारे भने जेम्स निसम र मिचेल स्यान्टनरले १–१ विकेट लिए ।

 

प्रतिक्रिया