जसपा नेपालको प्रथम महाधिवेशन शुरु, कुन पार्टीका कुन नेता उपस्थित ?


जनकपुर – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम महाधिवेशनमा जनकपुरमा सोमबारदेखि सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर महाधिवेशनको शुभारम्भ गरेका छन् ।

जसपा नेपालले एकताको महाधिवेशन समेत भनिएको उद्घाटन समारोहमा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका उपसभापति धनराज गुरुङ, स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्ले, राप्रपाका बुद्धिमान तामाङ, कम्यूनिष्ट पार्टी नेपालका नेत्रविक्रम चन्द(विप्लव) लगायतका नेताहरुको उपस्थिति छ ।

महाधिवेशनमा शुभकामना राख्दै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जसपाकै आन्दोलनको जगमा देशमा संघीयता र समावेशीकरण आएको बताउँदै संघीयतालाई समाप्त पार्ने खेल भइरहेकाले सबै दल सजग हुनुपर्ने बताए ।

‘तीन दिन अघिसम्म मधेश प्रदेशको मुख्यमन्त्री म नै थिए । गाडी र झण्डा हल्लाउनु बाहेक केही गर्न सकिएन,’ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री यादवले भने ,‘संघीयताप्रति संघ सरकार कहिले साकारात्मक भएन । हुन्छ भन्ने तर केही नगर्ने संघको सोच देखियो ।’ महाधिवेशनमा करिव दुई हजार प्रतिनिधिको सहभागिता छ । महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिने जसपा नेपालले जनाएको छ ।

प्रतिक्रिया