खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु हुँदै


काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खानान समूहको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु हुँदैछ।

बदलिँदो राजनीतिक परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको नेपाल समूहले जनाएको छ।

दुईदिनसम्म चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको र नेता कार्यकर्ताहरु राजधानी पुग्ने क्रम जारी रहेको समूहले जनाएको छ। भेलामा झण्डै दुई हजार अगुवा नेता तथा कार्यकर्ता सहभागी हुनेछन्।

एमाले सचिव योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने बताए।

उनले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गरे।

भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत गरिने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिने जनाइएको छ।

भेलाले पार्टी एकता विरोधी, विधान प्रतिकूल र एकलौटी कदमले सिर्जना गरेका पार्टी एकताका चुनौतीलाई एकताबद्धरुपमा प्रतिवाद गर्दै असफल पार्न आम पार्टी पङ्क्तिलाई आह्वान समेत गर्ने भनिएको छ।

 

प्रतिक्रिया