अध्यक्ष यादवको रिटमा आज सुनुवाइ हुँदै


काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिटमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । अब यही इजलासले टुग्याउने जनाइएको छ ।

कानुन नै नभएको समयमा निर्वाचन आयोगको आफ्नो पार्टी फुटाउनेहरूलाई वैधता दिएको भन्दै आयोगको निर्णय बदर गर्न माग गर्दै यादवले गत वैशाख ३१ मा रिट दायर गरेका थिए । यादवको रिटमा न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगका निर्णय यथावत् राख्न आदेश गरेको थियो । त्यसयता लगातार तीनवटा पेसीमा सुनुवाइ हुन सकेन ।

यादवले उस्तै प्रकृतिको अर्को रिट समेत जेठ ६ गते दायर गरेका छन् । शर्माको इजलासले जेठ ९ मा नै दुवै रिट एकसाथ सुनुवाइ गर्नेगरी पेसी मिति समेत तोकेको थियो । त्यसपछिका तीनवटा पेसीमा सुनुवाइ हुन नसकेको यादवको रिटमा आज सुनुवाइ भएको हो ।

यादवले निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित पार्टी छोडेको सात सांसदलाई समेत विपक्षी बनाएका छन् । उनले अन्तरिम आदेशमार्फत आयोगको निर्णयक कार्यान्वयनमा रोक लगाउँदै पार्टी फुटाएकाहरूलाई सांसद र मन्त्री पदबाट निलम्बित गर्न माग गरेका छन् ।

प्रतिक्रिया