अझै मिलेन रेशम र रञ्जिता विवाद, संसदीय दलमा मनपरी


काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा संरक्षक रमेशलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद जारी छ । अहिलेको सत्ता गठबन्धनलाई सहयोग गर्ने कि नगर्ने भन्ने विषयबाट रञ्जिता र रेशमबीचको विवाद बढ्दै गएको हो ।
कारागारमा रहदा पटक–पटक आफुलाई रिहा गरिदिन आग्रह गरेका रेशम जेलमुक्त भएपछि भने अहिलेको सत्ता गठबन्धनविरुद्ध लागेका थिए । तर पार्टी अध्यक्ष रञ्जिताले भने अहिलेकै सत्ता गठबन्धनलाई सहयोग गरिन । त्यसपछि रेशमले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न स्टाटस लेख्दै र मेट्दै गए ।

सुदूरपश्चिमको कैलालीबाट थारु आन्दोलनबाट जन्मीएको पार्टीको संस्थापक रेशम हुन । तर उनमा आफुले भनेको मात्रै लागु हुनुपर्ने भावनाको विकास भएपछि पार्टीमा समस्या आउन थालेको नेताहरु बताउँछन् । सुदूरपश्चिम प्रदेशमा नाउपा तेस्रो ठुलो दल हो । कांग्रेस १८ सिटसहित पहिलो,एमाले–माओवादी समान ११ सिटसहित दोस्रो र नाउपा ७ सिटसहित प्रदेशको तेस्रो संसदीय दल हो । तर ७ जना सांसदमा एकता छैन् । ५ जना सांसद रेशमको पक्षमा छन् । २ जना रञ्जिताको पक्षमा । रेशमको पक्षमा रहेका सासंदले प्रदेश सरकारका मुख्यमन्त्रीलाई मत दिएनन् भने रञ्जिता पक्षका दुई जनाले मत दिए ।

उनीहरु दुवै सरकारमा मन्त्री छन् । पाँचजना भने कांग्रेससंगै प्रतिपक्षी छन् । केन्द्रका सत्ता गठबन्धनमै रहेको नाउपाका सांसद प्रदेशमा पार्टीको आदेश मान्ने पक्षमा देखिदैनन् । अध्यक्ष रञ्जिताले पटक–पटक उनीहरुसंग सम्वाद गरेपनि उनीहरु सहमत भएनन् । यसको कारण हो,रेशमले ५ जनालाई आफ्नो आदेशमा चलाउनु । संसदमै नाउपाका दुई समुह भएपनि बेलाबेला समस्या समेत हुने गरेको छ ।

५ जना सांसद रेशमको आदेशविना केही नगर्ने मुडमा छन् । उनीहरु सबैजसो यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहको सरकारमा मन्त्री थिए । सो समयमा रञ्जिता पक्षमा दुईजनाले कमल शाहलाई सघाएका थिएनन् ।
नाउपा अध्यक्ष श्रेष्ठ विवाद मिल्ने क्रममा रहेको बताउँछिन् ।

उनका अनुसार पछिल्ला दिनहरुमा सांसदहरुका बीचमा छलफल भइरहेको छ । तर पार्टीले भनेको नमान्नेजस्तो देखिएको रञ्जिताको भनाई छ ।

उनले कागजपत्रसँग भनिन,‘उहाँहरु पार्टीभन्दा पनि स्वतन्त्र रुपमा चल्न पाउनुप¥र्यो भन्नुहुन्छ । हामी विधि र पद्धतीमा जाने कुरा गर्छौ । पहिलेभन्दा दुरी केही घटेको छ । सायद प्रदेश सरकारको बजेट पास हुँदासम्म विवाद मिल्छ कि ।’

अध्यक्ष श्रेष्ठले विवाद मिलाउन आफु हरसम्भव प्रयासमा लागेको बताइन ।

प्रतिक्रिया