मथुरामा ‘ड्रिम गर्ल’ हेमा मालिनीको ह्याट्रिक, नियम मिचेर भाजपाले दिएको थियो टिकट


काठमाडाैं- भारतमा सम्पन्न  लोकसभा चुनाव २०२४ मा, बलिउड अभिनेत्री तथा भाजपा उम्मेदवार हेमा मालिनीले यूपीको मथुराबाट शानदार जित हासिल गरेकी छिन् । कांग्रेसका मुकेश धनगरलाई भारी मतान्तरले पराजित गर्दै हेमा विजयी भएकी हुन् ।

मथुरा सिटबाट हेमा मालिनीको यो लगातार तेस्रो जित हो। जितको ह्याट्रिक गर्दै उनले आफू साँच्चै आफ्ना फ्यानहरूको ‘ड्रिम गर्ल’ हुँ भन्ने प्रमाणित गरेकी छिन् । उनी उम्मेदवार बनेकाे भाजपामा ७५ वर्षभन्दा माथि उमेर पुगेका व्यक्तिलाई टिकट दिने चलन छैन। तर हालै सम्पन्न निर्वाचनमा भाजपाले ७६ वर्षीया हेमा मालिनीलाई यो नियम भंग गरेर अपवादको रुपमा टिकट दिएको थियो ।

निर्वाचन आयोगका अनुसार हेमा मालिनीले यस पटक मथुरा सिटबाट ५,१०,०६४ मत प्राप्त गरेकी छन् । जबकी कांग्रेसका मुकेश धनगरले २ लाख १६ हजार ६५७ मत पाएका छन् । यसरी हेमा मालिनी २ लाख ९३ हजार ४०७ मतले विजयी भएकी छन् ।

२०१४ देखि लगातार यही सिट जितेर उनी सांसद बनिन् । यसअघि सन् २०१९ मा उनले २,९३,४७१ मतले जितेका थिइन् भने २०१४ मा हेमा मालिनीले आरएलडी प्रमुख जयन्त चौधरीलाई ३ लाख ३० हजार मतले पराजित गरेकी थिइन् ।

चलचित्रपछि राजनीतिमा सक्रिय
हेमाले सन् १९६३ मा तमिल फिल्म इदु सथियमबाट डेब्यू गरेकी थिइन् । हिन्दी सिनेमामा उनको पहिलो फिल्म ‘सपनाेका सौदागर’ थियो, जसमा राज कपूरले मुख्य भूमिका निभाएका थिए। त्यसपछि हेमा मालिनीले धेरै हिट हिन्दी फिल्महरूमा नायिकाको भूमिका निर्वाह गरिन् । धर्मेन्द्रसँग उनको जोडी बक्स अफिसमा हिट भयो र अफ स्क्रिनको बारेमा पनि धेरै चर्चा भयो।

सन् १९८० मा उनले धर्मेन्द्रसँग विवाह गरिन् । उनको विवाह पनि निकै चर्चामा आएको थियो । हेमा अहिले चलचित्र जगतबाट टाढा छिन् । २०२० मा उनको अन्तिम फिल्म  ‘शिमला मिर्ची’ आएको थियो ।

प्रतिक्रिया