जसपाको पदाधिकारी बैठक जारी, गठबन्धनबारे अलमल


काठमाडौं – सोमबारदेखि सुरु भएको जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक मंगलबार पनि जारी छ । देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा आफ्नो पार्टीको धारणा स्पष्ट गर्न जसपा नेपालको बैठक जारी रहेको हो ।

देशमा सत्ता समीकरणको बारेमा भइरहेका चर्चाको केन्द्रविन्दुमा रहेको जसपा नेपालले आफ्नो दिशा स्पष्ट गर्नका लागि सोमबारदेखि पदाधिकारीको बैठकमा छलफल गरिरहेको छ ।

सत्ता समीकरणमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई सहयोग गर्ने कि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससहितको गठबन्धनमा सामेल हुने भन्नेबारे जसपा नेपाल अलमलमा छ ।

आफूहरुको माग जसले पूरा गर्छ, त्यो दललाई मात्र सत्ता समीकरणका लागि सहयोग गर्ने जसपा नेपालका नेताहरुले बताउँदै आएका छन् । जसपाको मागप्रति दुवै पक्षका दल सकारात्मक छन् । दुवै पक्षले माग पूरा गर्ने भनिसके पनि जसपा नेपालले औपचारिक छलफल गरेर गठबन्धनको टुङ्गो लगाउन सकिरहेको छैन । यही अन्योलबारे पदाधिकारी बैठकमा छलफल चलिरहेको पार्टीका एक वरिष्ठ नेताले बताए ।

 

प्रतिक्रिया