चुलो बाल्न बालुवा गिट्टीमा आश्रित


डडेल्धुरा– कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरूमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न शहरहरूमा काम गर्दै आएका पुरुषहरू कोरोनाका कारण रोजगारी गुमाएर घर आएपछि नदीका बालुवा तथा गिट्टीमा आश्रित भएका छन् ।

बिहान ६÷७ बजेदेखि नै नदी किनारमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलनका बालुवा प्रतिट्र्याक्टर रु तीन हजार, गिट्टी प्रतिट्र्याक्टर रु दुई हजार ५०० र ढुङ्गा रु एक हजार ३०० दरले बिक्री गर्ने गरेको स्थानीय सागर ठगुन्नाले बताए । भारतमा होटेलमा काम गर्दा मासिक भारु २० हजार कमाउने गरेको भए पनि कोरोनाले रोजगारी गुमेपछि घर परिवार पाल्नका लागि बालुवा तथा गिट्टी सङ्कलन गरी बिक्री गर्दै आइरहेको उनले बताए ।

कोरोनाले रोजगारी गुमेको भए पनि नदीको बालुवा गिट्टीले साँझ बिहानको जोहो गर्न सजिलो भएको गन्यापधुरा–३ का इन्द्र दमाईले बताए । उनले भने, ‘भारतमा काम गर्ने होटेल बन्द भएपछि घर आएको हू,ँ घर खर्च चलाउनका लागि अहिले वालुवा गिट्टी बेच्ने गरेको छु ।’ तीन÷चार दिनमा एक ट्र्याक्टर बालुवा तथा गिट्टी बिक्री गरी मासिक रु २५÷३० हजार आम्दानी गर्ने गरेको उनको भनाइ थियो । गाउँपालिकाले पालिकाभित्र रहेका बेरोजगारहरूको तथ्याङ्क सङ्कलन गरिहेको र उनीहरूको सीपअनुसारे रोजगारी सिर्जना गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए । पालिकाले गर्ने विकास निर्माणका काममा स्थानीय व्यक्तिलाई मात्रै प्रयोग गर्ने र व्यावसायिक तथा सामूहिक कृषि खेती गर्न पालिकाले विशेष अनुदान दिने नीति ल्याएको अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया