सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौँ – राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेका अनुसार सहकारीको रकम हिनामिना र ठगी शीर्षकमा उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

सर्वसाधारणले बचत गरेको रकम हिनामिना गर्ने सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मा, व्यवस्थापक योगेन्द्र पाण्डे, पूर्वसचिव नगेन्द्रबहादुर रिमाल, राप्रपाकी संघीय सांसद बस्नेतसहित ३५ जनालाई विपक्षी बनाइएको छ ।

सांसद बस्नेतका ज्वाइँ नगेन्द्र रिमालले बिना धितो ९६ लाख रुपैयाँ बर्दियाको गुलरियामा रहेको कृष्णसार रिर्सोटमा लगेर लगानी गरेका हुन् । त्यसको अध्यक्ष गीता बस्नेत भएका कारण उनीविरुद्ध सहकारीको रकम हिनामिना र ठगी अपराधमा मुद्दा दर्ता भएको हो । सहकारीका शेयर सदस्य र नियमित बचतकर्ता बाहेक अन्य व्यक्तिलाई ऋण दिन नपाइने सहकारी ऐनमा व्यवस्था छ ।

३५ जनाबाट सहकारीको हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ भन्दा धेरै रकम असुलउपर, त्यसको हर्जना र कैद सजायको समेत माग गरिएको छ ।

प्रतिक्रिया