

पदमुक्त भएको २२ दिनपछि पूर्वमुख्यमन्त्री कार्कीले बुझाए निवासको चाबी

काठमाडौँ – पदमुक्त भएको २२ दिनपछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवासको चाबी बुझाएका छन् ।
२६ वैशाखमा पदमुक्त भएका कार्कीले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर निवासको तालाचाबी बुझाएका हुन् ।
पूर्वमुख्यमन्त्री कार्कीले निजी सचिव दिवस राजवंशीमार्फत निवास र तीन वटा सवारीको तालाचाबी बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ ।
२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्की २६ चैतमा अल्पमतमा परेका थिए ।
विश्वासको मत परीक्षण नगरेपछि २६ वैशाखमा प्रदेश प्रमुखले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

