नक्कली नेपाली नोटसहित ४ जना पक्राउ


काठमाडौँ- बारा प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने एक भारतीयसहित चार जना छन् ।

बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका-६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको छ भने ना ३४ प ३५१२ र बीआर ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद पनि गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया