तराईमा गर्मी बढ्दै, ३ दिनसम्म तातो हावाको लहर चल्ने


काठमाडौं- तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् ।

मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम गर्मीको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागमा झनै कम गर्मीको सम्भावना रहेको मौसमविद महर्जनले बताइन् ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ ।

त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) आदि प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया