

भारतीय कारखाना विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

काठमाडौं– भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।
बिहीबार भएको विस्फोटका कारण मृत्यु भएका थप चार जनालाई शुक्रबार घटनास्थलबाट बाहिर ल्याइएको हाे । यससँगै विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अग्नि नियन्त्रक विभागका अधिकारीले उल्लेख गरेका छन् ।
अधिकारीका अनुसार उक्त घटनामा परी घाइते हुने व्यक्तिको सङ्ख्या ६० भन्दा बढी पुगेको छ ।
मुम्बईको नजिकै रहेको ठाणे जिल्लाको डोम्बिवली क्षेत्रमा अवस्थित रासायनिक कारखानामा रहेको एउटा बाष्प इन्जिन ठूलो आवाजसहित विस्फोट भएको थियो ।
घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने तीमध्ये केहीलाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।

