
नेपाल पक्षले मानेन ओलीले २८ फागुनमा एमालेभित्र लिएको निर्णय
काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा पार्टी अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेको निर्णयलाई नेता माधवकुमार नेपाल पक्षले अस्वीकार गरेको छ।
एमाले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार दुई घन्टासम्म भएको दुई पक्षको वार्ताका क्रममा ओली पक्षले निर्णय लिएको र केन्द्रीय समितिमा उपस्थित भएर अगाडि बढ्न भनेको थियो। तर नेपाल पक्षले उक्त निर्णय अमान्य रहेको, सर्वोच्च अदालतको आदेशको मर्मविपरित भएको भनी अडान कायम राखेको नेता भिम रावलले जानकारी दिए।
अझ वार्ता र छलफल गर्ने विषयमा कुराकानी भए पनि मिति तय नभएको रावलले जानकारी दिए। यद्यपी संवादको थालनी भएकाले छलफल सकारात्मक दिशातिर जान सक्ने नेता रघुजी पन्तले बताए।
ओलीले केन्द्रीय समितिको बैठकको निर्णय भन्दै २८ फागुनमा सबै पदाधिकारी हटाएर केन्द्रीय सदस्य राखेका थिए भने माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय समितिमा मनोनित गर्दै इञ्चार्जको जिम्मेवारी फेरबदल गरिएको थियो।
गृहमन्त्री रामबहादुर थापा बादललाई बागमति प्रदेश इञ्चार्ज बनाइएको थियो भने लेखराज भट्टलाई सुदूरपश्चिम इञ्चार्जमा मनोनित गरिएको थियो। ति निर्णय नेपाल पक्षले नमान्ने अडान राखेको छ।



कागजपत्र |
