गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलले निकाल्यो मसाल जुलुस
काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै तरुण दलले मसाल जुलुस निकालेको छ । सोमबार काठमाडौँको बत्तीस पुतलीदेखि गौशालासम्म गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरुण दल काठमाडौँले मसाल जुलुस निकालेको हो ।
साथै सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको तरुण दलले जनाएको छ ।
उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, रवि लामिछाने होइन ठगी लामिछाने, सहकारी ठगलाई नाकको डाँडी भाँचिने गरी कहिले हान्ने ?, गजब छ बा , बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग’ लगायतका नारा लगाएका थिए ।
गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली काँग्रेसले उठाएको मागबारे जवाफ दिँदै आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए ।