

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैनः कांग्रेस
१५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।
प्रतिनिधिसभाको बैठक शुरु भएपछि सभामुखले आफ्नो धारणा राखेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सांसदका प्रश्न निमोठिने तयारी गरेको देख्दा अचम्म लागेको टिप्पणी गरेका छन् ।
उनले संसदीय समिति गठन नगरेसम्म संसदको कुनैपनि कारवाही अगाडी बढाउन नदिने घोषणा गरेका छन् ।
संसदमा बोल्दै महामन्त्री थापाले सहकारीको ठगीका सम्बन्धमा संसदले छानबिन समिति बनाओस् भन्ने आफुहरुको एक मात्र विषय भएको बताए ।
उनले किन डराएको भन्दै कहिले प्रहरी महानिरीक्षकलाई बोल्न लगाएको भन्दै महान्यायाधिवक्तालाई दुरुपयोग गरिएको आरोप लगाए ।
महामन्त्री थापाले प्रधानमन्त्रीले गृहमन्त्रीलाई क्लिन चिट दिएर संसदमा झुट बोलेको आरोप लगाउदै रवि लामिछानेले माग फारम भरेर ऋण लिएको प्रमाण बोकेर संसदमा आएको बताए ।
१५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
बैठक शुरु भएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद चलन नदिने घोषणा गरेको थियो । कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेससहितका विपक्षी सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

