माओवादी-जसपा वार्ता : सत्ता समीकरण, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे छलफल


काठमाडौँ – नेकपा माओवादी केन्द्रले जनता समावादी पार्टीसँगको छलफललाई निरन्तरता दिएको छ । दूई पार्टीबीच आज भएको छलफलमा सत्ता समीकरण र जसपाले उठाउँदै आएका मागबारे छलफल भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान भएको बैठकमा दुवै पक्षले आगामी सत्ता समीकरणबारे कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गरेका हुन् । माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जसपासँग केपी ओलीको विरुद्धमा संयुक्त सरकार बनाएर जाने एवजेन्डामा कुराकानी भएको बताए ।

त्यस्तै, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे पनि कुरा भएको बताए । त्यसैगरी जसपाका नेताहरूले मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ लगायतका कुरा उठाएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठले छलफलका क्रममा सुरुमा संयुक्त सरकार गठनको विषयमा जोड दिएका थिए । सरकार गठनपछि जसपाले उठाएका मुद्दा सम्बोधन गर्न सहज हुने उनीहरूको भनाइ थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको पदबाट केपी शर्मा ओलीलाई कसरी हटाउने भन्नेमा आफूहरूको जोड रहेको बताए । आफूहरूले रेशम चौधरी र संविधान संशोधनका कुरा उठाएको र त्यसमा माओवादीले समर्थन जनाएको यादवले बताए ।

प्रतिक्रिया