उपनिर्वाचनको मुखमै बुवा गुमाएका भण्डारीले प्रदेश सभामा कांग्रेसको एक सीट खोसे


बझाङ- बझाङमा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरे।

यसैगरी माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरे। एकीकृत समाजवादीले २ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विसं.२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका –१ भण्डारी गाउँमा जन्मिएका भण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौं जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए ।

उनी नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आबद्ध भएका थिए । उनले नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर सामाजिक कार्यमा लागे । २०५४ सालमा उनी नेकपा एमालेका तर्फबाट मटेला गाविसका अध्यक्ष निर्वाचित भए ।

२०५५ साल नेकपा जिल्ला कमिटी सदस्य हुँदै २०५६ सालमा गाविस राष्ट्रिय महासंघका जिल्ला अध्यक्ष निर्वाचित भए। त्यसपछि उनी युवा संघ नेपालका सेती अञ्चल सचिवसमेत बने ।  नेकपा एमालेभित्र राम्रो काम गर्दै गएका दमन २०६९ सालमा जिल्ला कमिटी सचिवका रुपमा चुनिए ।

२०७८ सालदेखि हालसम्म उनी नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष छन्। उनले यसअघि बझाङमा लैङ्गिक हिंसाविरुद्ध अभियान पनि चलाएका थिए । उनलाई एमालेभित्र इमान्दार, भद्र र शालिन पात्रका रुपमा लिने गरिन्छ । उपनिर्वाचनको मुखमा यही वैशाख ११ गते उनले बुबा गुमाएका थिए ।

भण्डारी प्रदेश सभामा निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सभामा एमालेले एक सीट थपेको छ । भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक सीट गुमाएको छ ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहको गत असार ५ गते सडक गुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो । कांग्रेसले उठाएको उम्मेदवार उनै स्वर्गीय सिंहका छोरा हुन् ।

प्रतिक्रिया