सन्दीपको मुद्दाको आज पेसी, फैसलाको सम्भावना !


काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज सोमबार उच्च अदालत पाटनमा पेसी रहेको छ । जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि उनी उच्च पुगेका थिए ।

त्यस्तै, १ चैतमा सरकारी पक्ष पनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालतमा पुगेको थियो । त्यसपछि अदालतले गत २३ फागुनमा औपचारिक रूपमा मुद्दालाई प्रवेश दिँदै आजका लागि पेसी तोकेको हो ।

उच्च अदालत, पाटनका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै दुबै पक्षलाई नियमअनुसार जानकारी गराउन आदेश दिँदै आजका लागि पेसी तोकेको थियो ।

अदालत स्रोतका अनुसार यो मुद्दालाई पुनरावेदनले लामो समय लम्ब्याउने सम्भावना अत्यन्तै कम रहेको छ । जिल्ला अदालतमा अधिकांस प्रमाणहरू झिकाइएको र लामो बहस भएकाले उच्च अदालतले ती सबै कागजात मगाइसकेको छ ।

सन्दीपको आज मुद्दा स्थगित नभए र सुनुवाइ भए आजै फैसलाको सम्भावना रहेको अदालत स्रोतले बताएकाे छ  ।  सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले पनि आज सुनुवाइ भएमा आजै पूर्णता पाउने सम्भावना रहेको बताए ।

प्रतिक्रिया