

काठमाडौं महानगरमा गरिब घरपरिवार गणना सुरु

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्यांक संकलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् ।
गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका तथ्यांक अधिकृत कृष्णराज तिवारीले जानकारी दिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले देशका ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र वितरण गरिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । काठमाडौं महानगरभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने मन्त्रालयले जनाएको छ ।

