

आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’को शर्मनाक हार

काठमाडौं – दोस्रो एकदिवसिय खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ले शर्मनाक हार ब्यहोरेको छ ।
कीर्तिपुरमा सम्पन्न ५० ओभरको खेलमा १७४ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा समेटिएपछि ११४ रनको विशाल हार ब्यहोरेको हो ।
नेपालका लागि भीम सार्कीले १७ रन र कप्तान विनोद भण्डारीले १६ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
आयरल्याण्डका लागि म्याथ्यु हम्फेयर्सले ६ विकेट लिएका थिए । त्यसबाहेक फिनोन हेन्ड र थोमस मायस्ले २÷२ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले खराब सुरुवात गरे पनि मध्य र अन्त्यतिर उत्कृष्ट खेल खेल्दै १७४ रन बनाएको थियो ।
५० रन बनाउँदा ६ विकेट गुमाएको आयरल्याण्डका लागि मध्य र अन्तिमतिरका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपालका लागि शाहबाब आलम र रिजन ढकालले ३÷३ विकेट लिँदा मौसम ढकालले २ विकेट लिएका थिए । त्यस्तै कमल ऐरीले १ विकेट लिएका थिए ।

