
सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भयाे : सांसद पौडेल
काठमाडौं- नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारी सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जत भएको बताएका छन् । मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अध्यागमन विभाग, भन्सार विभाग लगायतका निकायका सर्भर बारम्बार डाउन हुँदा देशकै छवि बिग्रेको भनाइ राखे ।
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भर बिहीबार डाउन हुँदा सयौं यात्रु करिब चार घण्टा लाइनमा बस्नु पर्यो, जसले गर्दा सबै रात्रिकालीन उडान प्रभावित भयो,” उनले भने, “सोही दिन भन्सार विभागको सर्भर डाउन हुँदा भन्सार कार्यालयको काम करिब पाँच घण्टा अवरुद्ध भयो । आजको मुख्य सम्पत्ति भनेको डेटा हो । राज्यले आफ्नो डेटाको सुरक्षा त गर्न सक्दैन भने त्यसले नागरिकको डेटाको सुरक्षा कसरी गर्न सक्छ ? हाम्रो डिजिटल सिस्टम प्रतिको प्रतिवद्धता छैन भन्ने कुरा प्रष्ट ढङ्गले देखिएको छ । यसले हाम्रो मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा नेपालको पनि बेइज्जत गराएको छ ।”



कागजपत्र |
