

लिम्बूलाई चुवान चिन्ह घण्टी हस्तान्तरण गर्दै रास्वपाले गर्यो उम्मेदवार घोषणा

इलाम – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूले आज (शनिबार) इलाममा मिलन लिम्बूलाई पार्टीको उम्मेदवार घोषणा गरेको छन् ।
आज इलाम चोक बजारमा घण्टी बजाउँदै आउँदो वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको उम्मेदवार मिलन लिम्बूलाई घोषणा गरिएको हो ।
उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले लिम्बूलाई चुवान चिन्ह घण्टी हस्तान्तरण गरेर उम्मेदवार घोषणा गरेका हुन् । आज मिलन लिम्बूको पक्षमा माहोल बनाउँदै उम्मेदवारी घोषणा गर्नका लागि उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु इलाम पुगेका छन् ।
लिम्बूको औपचारिक उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले स्व। सुवास नेम्वाङको परिवारप्रति कुनै टिप्पणी नगर्ने बताए ।
‘जुन राजनीतिको वकालत स्व। सुवास नेम्वाङले गर्नुभयो, त्यो राजनीतिको वकालत शायद राजनीतिक रुपमा चाहीँ त्यसको विरासत रास्वपाले नै धान्नु पर्छ । पारिवारिक रुपमा मलाई केही भन्नु छैन,’ उनले भने, ‘राजनीतिमा राजनीति मात्रै चल्छ । परिवारमा टीका लगाउने, दसैँ तिहार मनाउने कुरा त सधैँ रहिरहन्छ ।’
उनले इलामबाट लामो रेखा कोर्न चाहेको भन्दै मौका कुरिरहेको बताएका छन् । ‘इलामलाई चिनेको, गरिब किसान परिवारबाट पत्रिका बेच्ने मान्छे, समाचारमा काम गर्ने मान्छे, जसले इमानदारीताका साथ आफ्नो परिचय बनाए, उहाँलाई हामीले उम्मेदवारको रुपमा खडा गरेका छौँ,’ उनले भने ।

