चेतनदीप अयडी हत्या प्रकरण : फरार १२ आरोपी पक्राउ


बाजुरा – चेतनदीप अयडीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय तत्कालीन अध्यक्ष ३२ वर्षीय अयडीको हत्यामा संलग्न भएको आरोपमा फरार १२ जना सोमबार पक्राउ परेका हुन् ।

फरार रहेका ३३ वर्षीय नर अयडी, नरेश अयडी, २५ वर्षीय मंगल अयडी, ३३ वर्षीय मोहनबहादुर अयडी, २७ वर्षीय नविन अयडी, २२ वर्षीय लोकेश अयडी, २३ वर्षीय जीवन अयडी, ३२ वर्षीय उद्धव अयडी, ३८ वर्षीया अनिता रौले अयडी, ३६ बषीया धना देवी अयडी, ४५ वर्षीय पदम बहादुर अयडी र ३२ वर्षीया ईश्वरा देवी अयडीलाई सदरमुकाम मार्तडीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका–७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदिप अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित पक्षको आरोप छ । घटनाका आरोपमा नर अयडीलाई अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाजुराका युवाहरूले गिरफ्तार गरी प्रहरीलाई बुझाएको युवा संघ बाजुराका अध्यक्ष मिलन अयडीले बताए । अन्य ११ जनालाई प्रहरीले गोप्य सूचनाका आधारमा गिरफ्तार गरिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या आरोपमा चेतनका बुबा गगने अयडीले २४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुमध्ये मिति २०८० मंसिर १९ गते सर्वच्च अदालतको आदेशअनुसार शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी र धनराज थापालाई पूर्वक्षका लागि जिल्ला कारागार बाजुरा पठाउन आदेश दिएको थियो ।

यस्तै रुपा चौधरी, विनोद अयडी,चक्र अयडी, जुद्ध अयडी, भुपाल अयडी, र रनसिहं अयडीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । त्यस्तै मिति २०८० चैत्र ८ गते जिल्ला अदालत बाजुराको आदेशमा रतन अयडीलाई साधारण तारिकमा छा्ड्न आदेश दिएको थियो भने निरज अयडीलाई तीन लाख धरौटीसहित तारिकमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दानसिंह भण्डारीले बताए । चैत्र १२ गते गिरफ्तार परेका १२ जनाको बाजुरा जिल्ला अदालतमा बयान सुरु भएको प्रहरी निरिक्षक भण्डारीले बताए ।

प्रतिक्रिया