

‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण

काठमाडौं – राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे । ‘नेपाल संवत्लाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वनमा जान्छ’ उनले भने ।
सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने छ। यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए ।

