

धर्म र संस्कृतिमाथि विश्वास घटाउदा दुश्कर्म बढ्यो : कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकाले दुश्कर्महरू बढेर गएको बताएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १ सय ११औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातनदेखि मान्दै आएको धर्मलाई स्वार्थका खातिर कमजोर बनाउँदै लगिएकोले महिलामाथि हिंसा, बलात्कार लगायतका कार्यले प्रश्रय पाएको बताए ।
धर्म संस्कृतिलाई जोगाउन राप्रपाले प्रण गरेको हुँदा पार्टीको संगठनलाई मजबुत बनाएर आगामी निर्वाचनमा देशको प्रमुख राजनीतिक शक्ति स्थापित गर्न महिला नेतृहरुलाई संगठन निमाणमा जुट्न उनले निर्देशन दिए ।
धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरू नै अग्रपङ्तीमा रहेकाले यसलाई व्यापकता दिलाउन पनि महिलाहरूकै भूमिका उपयुक्त हुने थापाले बताए । उनले परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढङ्गले अघि बढ्ने बताए ।

