


सुन तस्करलाई महराले नै गाडी खोजिदिएका थिए

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करलाई गाडी खोजिदिएको तथ्य बाहिरीएकाे छ ।
६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई महराले गाडी खोजिदिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङसँग भनेर महराले वाङलाई गाडी मिलाइदिएको सीआईबी स्रोतले बतायो । वाङले चढ्ने गाडी यसअघि नै प्रहरीले बरामद गरेको थियो । रिनावल्ट कम्पनीको डस्टर गाडी जीवनकुमार गुरुङसँगको नाममा रहेको भेटिएको छ ।
सो गाडी कृष्णबहादुर महराले भनेर चिनियाँ वाङलाई दिएको गुरुङले बताएका थिए । यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन् । वाङ विगत १५ वर्षदेखि नेपालमा थिए । वाङले प्रयोग गर्ने गाडी ब्युरोले बरामद गरेको थियो ।

