धरानमा विमानस्थल बनाउन उपयुक्त छैन : प्राधिकरण


काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नरहेको जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले नजिकै विराटनगरमा विमानस्थल रहेकाले धरानमा विमानस्थल बनाउन प्राविधिक हिसाबले पनि कठिन हुने जनाएकाे छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।

साथै आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले समेत त्यहाँ विमानस्थल सम्भव नरहेको प्राधिकरणले जनाएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पटक-पटक धरानमा विमानस्थल बन्नुपर्ने माग राख्दै आएका थिए । उनले काठमाडौं आएर संस्कृति, नागरिक तथा उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर धरानमा विमानस्थल बनाउनुपर्ने बताएका थिए ।

मेयर साम्पाङको आग्रहपछि मन्त्री किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया