

२ पुलिस बने चोर, ठगे ३१ थान मोबाइल र २ लाख

काठमाडौं– व्यापारीको ३१ थान मोबाइलसँगै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना प्रहरी सहायक हवलदार र एक जवान पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव पक्राउ परेका हुन् ।
महोत्तरीको महोत्तरी गाउँपालिका ५ घर भएका सहायक हवलदार दीपेन्द्र र सुनसरी जिल्लाको देवागन्ज गाउँपालिका २ घर भएका प्रहरी जवान रोशन मिलेर जनकपुरका एक जना व्यापारीसँग गत ८ गते विभिन्न ब्रान्डको ३१ थान मोबाइल खरिद गरेका थिए ।
पछि मोबाइल फिर्ता गर्ने भनेर व्यापारीसँग दुई लाख रुपैयाँसमेत लिएर पटकपटक माग्दा पनि फिर्ता नगरेपछि बाध्य भएर पीडित व्यापारीले गत १३ गते उनीहरू विरुद्ध प्रदेश प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए ।
पक्राउ परेपछि बयानको आधारमा जनकपुर उमनपा ७ अन्जनीमाई कुटीको उत्तर पोखरीको डिलस्थित झाडीमा ३१ थान मोबाइल र दुई लाख मध्ये ९५ हजार रुपैयाँ बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषामा दुवै जनाविरुद्ध आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले जानकारी दिए ।

